प्रतिनिधिसभाको बैठक
काठमाडौँ, जेठ १ गते । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा जारी आव २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा बोल्दै उहाँहरुले बजेटमा पूरा गर्न नसकिने आश्वासनका चाङभन्दा कार्यान्वयन गर्न सकिने आयोजना र कार्यक्रमलाई समेट्न माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले जनजीविकासँग जोडिएका विषय हरेक वर्ष बजेट र कार्यक्रममा आए पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै बजेट आश्वासनमुखी नभई यथार्थपरक ल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजेटमा अब शब्द र भाषण हैन कार्यनीति र परिणाम हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायको सुनिश्चिताका लागि सरकार र राजनीतिक दलहरु गम्भीर हुनुपर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले बजेटमा कृषि, मलखादको विषय समेट्न माग गर्नुभयो । उहाँले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरजस्ता विषय किन प्राथमिकतामा परेनन् भनी प्रश्न गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले विकासलाई तीव्र रुपमा अगाडि बढाउन उत्पादन र उद्यमशीलता विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले कृषि उत्पादन प्रवद्र्धन, तीन तहका सरकारबीच समन्वय गरेर उत्पादन प्रवद्र्धन गर्नेगरी बजेटमा विषयहरु सम्बोधन हुनुपर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कृषि, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिनुपर्ने औँल्याउनुभयो ।
सांसदहरु रमा कोइराला पौडेल, सुनिता बराल, तोसिमा कार्की, बिनाकुमारी थनैत, लालप्रसाद साँवा लिम्बू, हितबहादुर तामाङ, सपना राजभण्डारी, प्रभु हजारा, सुशीला थिङ, रामशंकर यादव र हृदयराम थानीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा समेट्नुपर्ने विषयको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।