काङ्ग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत ।
काठमाडौँ, जेठ १ गते ।
प्रतिनिधिसभाका सांसद एवम् नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतको सांसद पद निलम्वनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार दुई कम्पनी र सांसद बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित हुनुभएको हो ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । काङ्ग्रेस सांसद बस्नेत २०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।
सांसद बस्नेतसहित १६ जनाविरुद्ध टेरामक्स घोटालाको आरोपमा मुद्दा दायर भएको छ । सो मुद्दामा दूरसञ्चार प्राधिकरणका तात्कालीन प्रमुख दिगम्वर झासहित अन्य व्यक्तिहरु छन् ।