काठमाडौं, जेठ १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२।०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहने बताउनुभएको हो ।
सांसद श्रेष्ठले कर्मचारीतन्त्रलाई एकरुपता दिन र उनीहरुको दक्षता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन कर्मचारीको क्षमता विकास लक्षित कार्यक्रम अनिवार्य भएको सुझाब दिनुभयो । सरकारले राम्रो नियतले अघि सारेका नीतिले समेत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन गाह्रो भइरहेको उल्लेख गर्दै उहाँले कर्मचारीमा दलीय संयन्त्र हटाउनुपर्नेमा जोड दिनुभयो ।
“जनप्रतिनिधिले ‘डेलिभरी’ दिने होइन कर्मचारीले गर्ने हो, हाम्रो डेलिभरीमा इफिसेन्सी चाहिन्छ । कर्मचारीतन्त्रको इफिसेनसी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिका आफ्नै आयोजना हुन्छन्, ती आयोजना बजेटमा समावेश गराउँदा कर्मचारीहरु सोही गतिमा काम गर्न नसक्ने अवस्था छ, यो व्यवहारिक समस्या हो यसलाई समाधान गर्नुपर्छ ।
उहाँले कृत्रिम बौद्धिकताबाट उपलब्धी हासिल गर्नका लागि तथ्याङ्क नीति बनाउनु अनिर्वाय भएको बताउनुभयो । प्राथमिकता निर्धारण आवश्यकताका आधारमा गर्न सुझाव प्रस्तुत गर्दै उहाँले होडबाजी नगर्न आग्रह समेत गर्नुभयो ।
“जनप्रतिनिधिले आफनो निर्वाचन क्षेत्रमा बजेट–बजेट भन्ने हो भने निर्वाचन त जितिन्छ, देश बन्दैन । होडबाजीमा बजेट ल्याउनु हुदैन”, सांसद श्रेष्ठले भन्नुभयो ।