सांसद गोकर्ण विष्ट
काठमाडौँ, वैशाख ३० गते ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै बैठकमा यस्तो धारणा राख्नुभएको हो ।

एमाले नेता विष्टले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने लक्ष्य विधेयकमा राखिएकामा त्यसको स्वागत गर्नुभयो ।

नागरिकको जीवनस्तर माथि उठाउने र आम नागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढङ्गले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उहाँले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताउनुभयो । 

बूढीगण्डकी, उत्तरगङ्गाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी  सोचको सराहना गर्दै उहाँले सोही अनुसार बजेट विनियोजन गर्नुैपर्ने बताउनुभयो । 

पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै सांसद विष्टले गुणस्तरीय शिक्षामा ध्यान दिन, युवालाई सूचना र प्रविधिमा केन्द्रित गरी १५ लाखलाई रोजगारीको सुनिश्चितता हुनेगरी बजेट आउँनुपर्ने सुझाव दिनुभयो । मुलुकको समग्र आर्थिक विकासका निम्ति बजेटका प्राथमिकता र सिद्धान्त यर्थाथवादी भएको उहाँले बताउनुभयो ।