फाइल तस्वीर : सांसद ज्ञानेन्द्रबहादुर कार्की ।
काठमाडौँ, वैशाख ३० गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको मङ्गलबार बसेको बैठकमा बोल्दै सांसद कार्कीले बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताउनु भएको हो ।
पूर्व अथैमन्त्रीसमेत रहनुभएका सांसद कार्कीले सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेता कार्कीले समावेशी, दिगो, प्रतिफल दिने र जनतालाई प्रत्यक्ष अनुभव गराउने बजेट आवश्यक भएको बताउनुभयो । कृषिमा आत्मनिर्भरता विकास तथा रोजगारी सृजनामा बजेट केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“सीमित स्रोतबाट कसरी अधिकतम प्रतिफल लिने भन्ने चुनौती छ । नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजना देशको माग हो ।”, उहाँले भन्नुभयो ।
सांसद कार्कीले राजनीतिक अस्थिरता र नीतिगत अस्थिरतालाई आर्थिक विकासको प्रमुख बाधाका रुपमा चित्रण गर्दै स्थिर नीति नभएसम्म लगानी, कार्यान्वयन र प्रतिफल सुनिश्चित हुन नसक्ने बताउनुभयो ।
मुलुकका तीन हजारभन्दा बढी हिमनदी तीव्र रूपमा पग्लिएर बाढीको जोखिम बढेको बताउँदै अनौपचारिक हिसाबले वार्षिक रु ८३ अर्ब भन्दा बढीको क्षति जलवायुजन्य विपद्बाट हुँदै आएको वास्तविकता सुनाउनुभयो । जलवायु परिवर्तनका असर घटाउन ठोस पहल थाल्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।