फाइल तस्वीर
काठमाडौँ, वैशाख २९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको बताउनुभएको छ । गौतम बुद्धको जन्मजयन्तीको अवसरमा व्यक्त शुभकामना व्यक्त गर्दै माकेका अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले ‘बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ’ भन्नुभएको छ ।
शुभकामना सन्देशमा ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’ भनि उल्लेख गर्नुभएको छ ।
बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले , ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ’ बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको उल्लेख गर्दै त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा, बुद्धको विचार र क्रान्तिकारी शिक्षालाई आत्मसात् गर्दै समुन्नत, न्यायपूर्ण र समावेशी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्ने महान् अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक आव्हान गर्दछु।’