काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने गरी सम्भावित कार्यसूची तय भएको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२र८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।