काठमाडौँ, वैशाख २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले नेपाली विशेषतासहित समाजवादीका कार्यदिशाबारे बृहत् बहस एवं समीक्षा गर्ने भएको छ । यही वैशाख २७ गते दाङमा गर्न लागिएको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनका अवसरमा त्यस्तो समीक्षा गर्न लागिएको सो पार्टीले जनाएको छ ।
पार्टीको गत वर्ष सम्पन्न १०औँ महाअधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्न लागिएको हो । अधिवेशनले लुम्बिनीका १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशनको समीक्षाका साथै नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टी उपमहासचिव एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज मेटमणि चौधरीले जानकारी दिनुभयो ।
अधिवेशनले संविधानमा लेखिएअनुसार नेपालमै पहिलोपटक नेपाली विशेषतासहित समाजवादीका कार्यदिशा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे, जनवर्गीय सङ्गठनका कार्य प्रगतिको प्रतिनिधिले समीक्षा गर्ने कार्यक्रम छ ।
अधिवेशनमा राजनीतिक, साङ्गठनिक, आर्थिकलगायत अन्य प्रतिवेदन पारित गरिने छ । नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशासहितको कार्यक्रम ल्याएको जनाइएको छ ।
पार्टीको १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी कार्यदिशा बोकेर गाउँगाउँमा खटिनसमेत नेता, कार्यकर्तालाई निर्देशन दिइएको छ ।