ललितपुर, वैशाख २० गते। पूर्वउपराष्ट्रपति एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुनले गणतन्त्र स्थापनामा मगर समुदायले गरेको योगदानको सराहना गर्नुभएको छ । माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको आज स्थानीय चाङ्गाथलीमा आयोजित बागमती प्रदेशको दोस्रो सम्मेलनमा उहाँले आफ्ना अधिकार स्थापित गर्न समुदायका सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

संसद्मा पनि आफ्नो पार्टी सशक्त रहेको चर्चा गर्दै माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानप्रति जनताबाट रचनात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य हरि दाहालले जनवर्गीय संगठनको क्रियाशीलताले पार्टी सबल बन्ने बताउनुभयो ।

मोर्चाका महासचिव जीवन मगरले देशको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान बिर्सन नहुने बताउनुभयो ।

मोर्चाका केन्द्रीय सचिव केशव मगरले सबै जनवर्गीय सङ्गठनलाई पार्टी नेतृत्वले एकताका सूत्रमा आबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।