ललितपुर, वैशाख २० गते । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक, सामाजिक गतिविधि बढाउने गरी आएको बताउनुभएको छ ।
स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मङ्गलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
“हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“काठमाडौँ उपत्यकाका सबै जातीय समुदायले एकताका साथ काम गर्न सक्नुपर्छ, एक्लाएक्लै काम गरेर समाजको एकता कायम हुन सक्दैन, समुदायमा जुनसुकै विद्यामा उल्लेख्य काम गरेकालाई सम्मान गर्ने परम्परा कायम राख्नुस्, सहिष्णुता कायम गरेर समाजमा उल्लेख्य काम गरेकालाई सम्मान गर्नुस्”, उहाँले भन्नुभयो ।
स्यस्य समाजका अध्यक्ष नवीनमङ्गल जोशीले स्यस्य समाजले एकता, सद्भाव र सहिष्णुतालाई जोड दिँदै संस्कृति संरक्षणका लागि समाजले काम गर्दै आएको जानकारी गराउनुभयो ।