काठमाडौँ, वैशाख १९ गते । काठमाडौँको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२÷४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा निज श्रेष्ठले घटना घटाएको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान तथा घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
निजलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको उहाँले बताउनुभयो ।