काठमाडौँ, बैशाख १९ गते । सङ्घीय संसद्मा प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न भएको छ । संसद सचिवालयका अनुसार सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको तयारी पूरा भएको हो ।
आज शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ । राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो । पूर्वाभ्यास कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद् सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक दिउँसो ३:०० बजेका लागि बोलाइएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने व्यवस्था छ ।