काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्ने बताउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषको ३९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बी पशुपतिनाथ र बौद्ध धर्मावलम्बी लुम्बिनी आउन चाहेकाले नेपाललाई सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
भारतका स्वामी नारायणका भक्तजनले मुक्तिनाथलाई इष्टदेव मान्ने र जनकपुर एवं अयोध्याबीच प्राचीकालदेखि नै सम्बन्ध रही आएकाले पनि सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानसके नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिने मन्त्री पाण्डेको भनाइ छ । सांस्कृतिक अर्थतन्त्र कसरी अघि बढाउने भनी मन्त्रालयले पनि सोच बनाइरहेको उहाँको भनाइ छ ।
कम्बोडियाको अङ्कुरबाट मन्दिरले त्यहाँको अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले नेपालमा समग्र पर्यटन क्षेत्रबाट पनि अर्थतन्त्रमा १० प्रतिशत अर्थतन्त्रमा योगदान नहुने गरेको बताउनुभयो । पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र र जनकपुर क्षेत्रका विषयमा नकारात्मक कुरामात्र आफूकहाँ आउने गरेको उल्लेख गर्दै उहाँले तथ्य र तथ्याङ्कका आधारमा मात्र नकारात्मक कुरा गर्न आह्वान गर्नुभयो ।
“भौतिक कुरामात्र सबै चीज होइन भनी आत्मिक र आध्यात्मिक जागरण पनि गराउनुपर्छ, यसका लागि काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा पैदलमार्गबाट एक ठाउँबाट अर्को ठाउँमा जान सकिने गरी मार्ग निर्माण हुँदैछ, स्वयम्भू–हनुमानढोका–पाटन–पशुपतिनाथ–बौद्धनाथ–बूढानीलकण्ठलगायत स्थललाई पैदलमार्गबाट जोड्ने तयारी गरिरहेका छौँ”, मन्त्री पाण्डेले भन्नुभयो ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले कोषको ऐन र नियमावली संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै छिटो गर्ने व्यवस्थाका लागि मन्त्री पाण्डेसँग माग गर्नुभयो । पशुपति महाप्रसाद बिक्री वितरण र पशुपतिनाथमा अनलाइन पूजाको व्यवस्थामा पनि कोष जाने तयारी गरेको जानकारी उहाँले गराउनुभयो ।
कोष सञ्चालक परिषद्का सदस्य हरिनाथ ढकालले ३९ वर्ष पार गरेर वयस्क भएको संस्थाले परिपक्व चिन्तन गर्नुपर्ने बताउनुभयो । पशुपति क्षेत्रमा आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त, सुलभ दर्शन र सफाइको व्यवस्था गरेर सुधार गर्न सकिने परिषद् सदस्य ढकालले सुनाउनुभयो ।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पशुपति क्षेत्रका सम्पदाको संरक्षण र मर्मत सम्भारका काम गर्ने जिम्मेवारीका साथ यसको स्थापना भएको जानकारी दिनुभयो । कार्यक्रममा कोषले स्थापना दिवसका अवसरमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताका विजयी र रक्तदान कार्यक्रमका रक्तदातालाई प्रमाणपत्र र पुरस्कार पनि प्रदान गरिएको थियो । कोषको स्थापना २०४३ सालको अक्षय तृतीयाका दिन अध्यादेशबाट भएको थियो ।