काठमाडौँ, बैशाख १७ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नै प्रहरीले नियन्त्रणमा लिएको छ । जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला रेशमलाल चौधरीलाई पक्राउको पत्र काट्ने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टले आफूखुसी पत्र लेखेको पाइएकाले उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो। विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेख्नुभएको थियो । सोही आधारमा उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ ।
सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलका अनुसार सर्वोच्चका अधिकृत महिमानसिंह विष्टले आफूखुसी लेखेको पत्र कारागार कार्यालयमा पठाइएको र सो पत्र आधिकारिक नभएको पुष्टि भएकोले अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ ।
पत्रमा भनिएको छ, ’यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद ÷ थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’
अनधिकृत पत्रका आधारमा पक्राउ पर्नुभएका रेशम चौधरी सर्वोच्चको आधिकारिक पत्रपछि आजै केहीबेरमा रिहा हुँदै हुनुहुन्छ ।
