जुम्ला, वैशाख १६ गते । सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उहाँ बताउनुहुन्छ । 

महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ । महोत्सवमा २२ कक्ष राखिएका छन् । सबै कक्ष ‘बुकिङ’ भइसकेका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन् । “स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ । यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्”, उहाँले भन्नुभयो । 

महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ । महोत्सव यही वैशाख २४ गतेसम्म चल्नेछ ।