काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज सोमबार बिहान ११ बजे बस्ने तय भएको हो ।


प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरे प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।


यसैगरी, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । साथै मन्त्री रघुजी पन्तले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Screenshot 2025-04-28 072924