काठमाडौँ, वैशाख १३ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उहाँको परिवार स्रोतले जनाएको छ ।

विसं २००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ काङ्ग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिनुभएको थियो ।

उहाँका श्रीमती हुनुहुन्छ । उहाँको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिनुभयोे ।