सुनसरी, वैशाख ९ गते । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव जीवन बाँच्न विवश छन् ।
सत्तरी वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहनुभएको छ । उहाँको अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चाताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको पाइन्छ ।
उहाँको नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेहरूमा केन्द्रित हुन्छ । ती मान्छेहरूलाई हेर्दै उहाँ भन्नुहुन्छ, “सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ । घरमा खुसीको माहोल बेग्लै थियो । घरनजिकै सानो चियापसल र सागसब्जीको पसल पनि थियो । छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किँदा घरको रौनक बेग्लै हुन्थ्यो ।”
“तर समय निष्ठुरी र क्रुर पनि हुँदोरहेछ । एघार महिनाको कलिलै उमेरमा मेरो छोरा बित्यो । छोराको मृत्यु भएको केही समयमै अर्को बज्रपात आइलाग्यो, पतिको पनि निधन भयो । श्रीमान् बितेपछि म सहाराविहीन भएँ, र अन्तिममा म वृद्धाश्रम पुगेँ”, आफ्नो विगत सुनाउँदै उहाँले भन्नुभयो ।
सुरुमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै थिएन मलाई । सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि छ मेरा कोही भएनन्, एक्ली भएँ । चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू । उहाँहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु, सुवेदीले बताउनुभयो ।
उहाँले अगाडि सुनाउनुभयो, “मेरो परिवार कस्तो थियो भन्ने पनि बिर्सिसकेँ मैले । केही आफन्त भने मलाई कहिलेकाहीँ भेट्न आउनुहुन्छ । वृद्धाश्रम बस्न थालेपछि अहिले यही मेरो परिवारजस्तो लाग्छ । बस्नका लागि राम्रो सुविधा छ, दैनिक जीवन सहज तरिकाले बित्ने गरेको छ, अहिले मेरो लागि आश्रम नै प्यारो छ ।”
अहिले १७ जना वृद्धवृद्धा बसिरहेको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा इटहरीमा खुल्यो । आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ । सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ ।
यस्तै इन्दिरा सुवेदीको जस्तै कथा विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि छ । उहाँ विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएको छ । “सकुन्जेल काम गरेँ, छोराछोरी हुर्काएँ । शिक्षा दिएँ । अहिले तिनै सन्तानले नचिनेझैँ गरे । आफ्ना छोराछोरी सन्तानका लागि जिन्दगी बिताएँ । तर अहिले तिनै सन्तानले थाँती राखेजस्तै गरे, न माया छ न सम्मान छ”, उहाँले भन्नुभयो ।
गौतमको आँखामा पीडामात्र होइन, वेदना पनि प्रष्ट देखिरहेको थियो । आश्रममा आएपछि शान्ति र सुख त छ । तर मनको कुँडाइ भने अझै छ । धक खोलेर बोलिरहनुभएकी गौतम भन्नुहुन्छ, “यो घर त हो नि तर आफ्नोपन खै कहाँ छ र रु छोराछोरीले आफ्नो संसार बनाए । मलाई सबैले बिर्से अन्त्यमा, आफ्नै सन्तानले आश्रम पुर्याइदिए । माया त बाल्यकालमा मात्र रहेछ । अहिले त सबै व्यस्त छन् अनि हामीजस्ता बुढाबुढी भने बेकार जस्तै भएछौँ”, उहाँले पीडा पोख्नुभयो ।
“पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे । उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ । अहिले न फोन गर्छन् न भेट्न आउँछन् । अहिले छोराछोरी कता छन् केही थाहा छैन । मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ”, खुसी साट्ने प्रयास गर्दै गौतमले भन्नुभयो ।
त्यस्तै ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएको छ । जीवनभर कहिले नथाकी आफ्ना सन्तानका लागि खटिनुभएकी उहाँ अहिले पराइझैँ ठानिएका ठाउँमा दिनहरू बिताइरहनुभएको छ । प्रष्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उहाँका आँखाहरूले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमा टोलाएर बाहिरको आकाश हेरिरहेका छन् ।
“आफ्नै सन्तानले मलाई हेरचाह गर्न नसकेपछि आश्रम ल्याएर छाडे । कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ । तर अनुहार कस्तो छ प्रष्ट देख्न सक्दिनँ । पहिले घरमा छोराछोरीसँगै बसेर बिहान–बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ”, उहाँले मनको पीडा पोख्नुभयो । हुन त यहाँ पनि मजस्तै धेरै वृद्धहरू हुनुहुन्छ, उहाँहरूसँग गफ गरेर मन भुलाउन कोसिस गर्छु । तर घरजस्तो न्यानोपन भने हुँदैन रहेछ, उहाँले सुनाउनुभयो ।
पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ । घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताउनुभयो । यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ, उहाँले भन्नुभयो ।
स्थानीय र प्रदेश सरकारले यस्ता आश्रमका लागि बेलाबेला दिवा खाजादेखि अनुदान रकम प्रदान गरिरहेको छ । केही समयअघि प्रदेश सरकारले उपलब्ध गराएको रु नौ लाखले ट्रस निर्माण गरेपछि रामजानकी वृद्धाश्रममा वर्षामा पानी चुहिने समस्या समाधान भएको छ । आचार्यले भन्नुभयो, आश्रम सञ्चालन गर्नका लागि केन्द्र सरकारले समेत राम्रो सहयोग गरिरहेको छ ।
शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आउनुभएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबासविहीन हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । वृद्धवृद्धाका दिनहरू सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको छु, उहाँले भन्नुभयो । यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।
इटहरी रामजानकी शान्ति वृद्धाश्रमका सञ्चालक समिति सदस्य सन्तोष ओझा भन्नुहुन्छ, “वृद्धवृद्धाले जुन आत्मीयता खोजिरहनुभएको हुन्छ, त्यो परिवारको मायामा मात्र भेटिन्छ । यहाँ आमाहरूलाई निकै मायाको खाँचो हुन्छ । त्यो वृद्धाश्रममा नपाउन सकिन्छ ।” अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा ज्येष्ठ नागरिकको सङ्ख्या पाँच लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको ११।२२ प्रतिशत रहेको छ । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट आर्थिक वर्ष २०८१/८२ मा ज्येष्ठ नागरिकका लागि रु एक करोड आठ लाख बजेट विनियोजन गरी खर्च गरिरहेको छ ।