नवलपरासी, वैशाख ९ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उहाँ अहिले व्यस्त हुनुहुन्छ ।

तीन बिघामा मेवाखेती गर्नुभएका महतोले अहिले ६० टन मेवा बिक्री गरिसक्नुभएको छ । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उहाँले बताउनुभयो । मेवाको बिक्रीमा खासै समस्या नभएको उहाँको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उहाँको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताउनुभयो ।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाउनुभएका महतोले असोजबाट बिक्री सुरु गर्नुभएको हो । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आउनुभएको छ । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”, उहाँले भन्नुभयो ।

मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताउनुभयो । मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु पाँच लाख फाइदा लिइसकेको उहाँले बताउनुभयो । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उहाँले बताउनुभयो । उक्त समयसम्म करिब रु २०–२१ लाखको मेवा बिक्री हुने उहाँको अनुमान छ । यसले आम्दानी पनि बढाउने उहाँले बताउनुभयो ।

मेवाखेतीबाट उहाँले आम्दानीमात्र लिनुभएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिनुभएको छ । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उहाँको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उहाँको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उहाँको भनाइ छ ।

अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले रेडलेडी प्रजातिको मेवाखेती गर्नुभएको छ ।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताउनुभयो । मेवाखेती गर्नुअघि उहाँले उक्त जग्गामा खरबुजाखेती गर्नुभएको थियो । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताउनुभयो । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहनुभएका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बन्नुभएको छ । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताउनुभएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उहाँले भन्नुभयो ।