रूपन्देही, वैशाख ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले आज यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका क्रियाकलापको अवलोकन तथा अनुगमन गरेको छ ।

टोलीले जिल्लामा सञ्चालित माछा, गँहु सुपर जोनलगायत अन्य परियोजनाहरूकोे अनुगमन गरेको हो । टोलीले यहाँ सञ्चालित कार्यक्रमको प्रभाव, समस्या र सम्भावनाबारे आवश्यक जानकारी दिएको थियो ।

किसानले सिँचाइ, मलखादलगायत विषयमा मन्त्री अधिकारीसहितको टोलीको ध्यानाकर्षण गराएका थिए । मन्त्री अधिकारीले मलखादलगायत समस्या समाधाका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले समितिले प्युठान, दाङ, कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित परियोजनाको अवलोकन गरेको बताउनुभयो । समितिले परियोजनाअन्तर्गत सञ्चालित रुपन्देहीको जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेड, गँहुजोनको बीउ स्रोत केन्द्र, यन्त्रीकरण प्रवर्द्धन, पोष्ट हार्विष्ट सेन्टर र कम्बाईन हार्विष्ट सेन्टरमा सहकार्य गरेको नवदुर्गा स्वावलम्बन सहकारी संस्थाको अवलोकन गरेको थियो ।

अनुगमनमा प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु वीरबहादुर बलायर, भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रुपा चौधरी, अनिशा नेपाली, अशोक कुमार चौधरी, विजुला रायमाझी, मिना तामाङ र सूर्यकुमारी श्रेष्ठ, मन्त्रालयका सचिव दिपक खराल लगायत हुनुहुन्थ्यो ।