काठमाडौँ, बैशाख ६ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बिदाइ गरिएको छ । आयोगका पदाधिकारी एवं कर्मचारीहरूले हिजो शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमुख निर्वाचन आयुक्त थपलियालाई बिदाइ गर्नुभएको हो ।

आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते शनिबार निवृत्त हुँदै हुनुहुन्छ । उहाँ संविधानको धारा २४५ बमोजिम वि.सं. २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त हुनुभएको थियो ।

बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गर्नुभएको थियो ।


बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि र्सिजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालको अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको बताउनुभयो ।