काठमाडौं, वैशाख ५ गते । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन हुनुभएको हो ।

उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (सङ्गठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित हुनुभएको हो ।

महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ ।

महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको थियो । एमालेले सामाजिक सद्भाव कायम गराउने कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रतिको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

रक्षामन्त्री मानवीर राईले नेपोनले विपद्को समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोप्रति विश्वास व्यक्त गर्दै जीवनको ऊर्जाशील समय देशको सुरक्षामा खटेर बिताउनु सराहनीय भएको बताउनुभयो ।

नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले नेपोन भूतपूर्व सैनिक तथा प्रहरीको साझा चौतारी भएको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपोनले राष्ट्रका सुरक्षा समस्या पहिचान गर्ने तथा समस्या न्यूनीकरणमा मद्दत गर्ने भूतपूर्वहरूको अभूतपूर्व क्षमतालाई सुरक्षा र विकासमा जोड्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राष्ट्रको सार्वभौमिकता र स्वाधीनतालाई अक्षुण राख्दै सामाजिक मूल्य र मान्यतालाई दिगो बनाउनेलगायत महत्त्वपूर्ण विषयमा हाम्रो संस्थाको समन्वयपूर्ण भूमिका रहने बताउनुभयो ।

अध्यक्ष पाण्डे अवकाश प्राप्त सहायक रथी हुनुहुन्छ । विसं २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उहाँ पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो ।