काठमाडौँ, बैशाख ५ गते । सङ्घीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सो बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बिहान ११ बजे नै बस्दैछ । उक्त बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सो बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।