काठमाडौँ, वैशाख ३ गते । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताउनुभएको छ । दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याउनुभयो ।
उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उहाँले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गर्नुभयो ।
“प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ”, पूर्वउपराष्ट्रपति झाले भन्नुभयो, “संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।”
सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताउनुभयो ।
राष्ट्रिय समाचार समिति९रासस०का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिले पुनः राजनीतिक भूमिकामा फर्किनु शोभनीय नहुने धारणा राख्नुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले नागरिक सर्वोच्चता कायम राख्न आमसञ्चारको भूमिकाबारे आफ्ना धारणा राख्नुभयो । उहाँले राजतन्त्र फर्किन सम्भव नभएको राय व्यक्त गर्नुभयो ।
दिशानिर्देश पत्रिकाका सम्पादक जेपी गुप्ता ‘मायालु’ले सर्वोच्च अदालतको फैसलालाई अवहेलना गर्दै प्रेस काउन्सिलले आफूहरुलाई पटकपटक पत्र काटेको आरोप लगाउनुभयो ।