भक्तपुर, वैशाख ३ गते । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ । पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्डटकको आगमन भएको हो ।
पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।
नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ ।
उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।”
भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छभने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
आज तेस्रो तथा उद्घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ । सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिँदै नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षको सुरुआत पूर्ण रूपमा सफल भएको बताउनुभयो ।
नगरकोट आएका हजारौँ पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँका विभिन्न स्टलको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका उहाँको भनाइ छ ।
नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने उद्देश्य रहेकामा उक्त उद्देश्य पूरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्वबजारमा नगरकोटलाई चिनाउने नगरप्रमुख खत्रीले बताउनुभयो ।
भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको नगरप्रमुख खत्रीले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई यहाँका वडा नं १ देखि ९ सम्मका सम्पदाका बारेमा पर्यटकलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने, यहाँका सबै पर्यटकीय गन्तव्यलाई देश र विदेशमा प्रचार गर्नेगरी भ्रमण वर्ष सफल पार्ने बताउनुभयो ।
उहाँले नगरकोटसँगै चाँगुनारायण नगरपालिकाका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने, त्यसलाई संरक्षण गर्ने, विकास गर्ने र नगरकोट आउने पर्यटक चाँगुनारायणका वडावडामा नयाँ गन्तव्यको रूपमा विकास भएका पर्यटकीय क्षेत्रमा पु¥याउने, नगरकोटसँग सिमाना जोडिएका पालिकाका पर्यटकीय क्षेत्रमा पर्यटकलाई पु¥याउने, यहाँका पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्ने, दीर्घकालीन योजना तयार गर्ने, पर्यटकको बसाइ लम्ब्याउनेगरी भ्रमण वर्ष शुभारम्भ भएको जानकारी दिनुभयो ।
नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरेको, चारवटै पालिकाबाट सहजै नगरकोट पग्ने व्यवस्था गरेको, काठमाडौँ नगरकोट सिँधा बस सञ्चालन गरेको, नगरकोटलाई सिङ्गारिएर झकिझकाउ बनाएको बताउँदै भ्रमण वर्षले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको उपप्रमुख बुढाथोकीले उल्लेख गर्नुभयो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।