काठमाडौँ, वैशाख ३ गते । सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । हिजो मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्नका लागि आवश्यक समन्वय र सहजीकरण गरी वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्न सरकार संवेदनशील र गम्भीर रहेको बताएको छ । सरकारले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले नयाँ शैक्षिकसत्रको प्राङ्गणमा विद्यार्थी भर्ना, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समयलाई मध्यनजर गर्दै विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी सम्पूर्ण शिक्षकलाई आआफ्नो कार्य थलोमा फर्किन अनुरोध गरेको छ । तर शिक्षक महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने अडान कायम राखेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमा लेख पोस्ट गर्दै देशभरका सबै शिक्षक साथीहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको सक्रिय सहभागितामा पर्खिरहेको छौँ, तुरुन्तै काठमाडौँ आइपुग्नुहोला आन्दोलन जारी रहने छ भन्नुभएको छ ।