भक्तपुर, वैशाख १ गते । ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सुरु भएको छ । नपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको हो ।
आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए ।
“नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, नगर प्रमुख खत्रीले भन्नुभयो । घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उहाँको भनाइ छ । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।
भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभे्रपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।
चान्हेसिया जात्रा सम्पन्न
मध्यपुरथिमीका बासिन्दाले चान्हेसिया जात्रा मनाएका छन् । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।
जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजाराँै चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिणबाराही मन्दिर परिक्रमा गराइएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । आइतबार राति सुरु भएको जात्रा आज बिहान सम्पन्न भएको हो ।
त्यसैगरी, सूर्यविनायक नगरपालिका–१ दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको संस्कृतिविद् रत्न सायमीले बताउनुभयो ।
किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ । आज यहाँको कुण्डमा स्नान गर्न बिहानैदेखि घुइँचो लागेको छ । मन्दिरमा आज बिहानदेखि तीनवटा खटसहितको खट जात्रा यहाँका विभिन्न क्षेत्रमा परिक्रमा गराई मनाइएको छ ।
त्यसैगरी, दधिकोटको चित्रपुरस्थित पूर्ण विनायक गणेश र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा गणेश जात्राको खट यात्रा गरी सिन्दूर खेल्दै टोलटोलमा देवता विराजमान गराइएको खट लगेर जात्रा मनाइएको छ । सिरुटारका बासिन्दाले खटलाई बोकेर सिरुटार, बालकोट परिक्रमा गराई जात्रा मनाएको सिरुटारका प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यहाँका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।