काठमाडौँ, वैशाख १ गते । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदुढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक  शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौँ, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुने छ ।” उहाँले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गर्नुभएको छ । 

नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उहाँले एक अर्काकाप्रति सहिष्णु हुँदै सबैले एक अर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मन गर्दै मिलेर देश विकासमा अगाडी बढ्नुपर्नेमा जोड दिुनभएको छ ।

त्यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 
“नयाँ वर्षले हामी सबैमा उत्साह, उमङ्ग र ऊर्जा भरेर देशको समृद्धि र विकासमा योगदान पु¥याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यावसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ । 

सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

 सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रम अघि बढाउँदै आएको जानकारी दिँदै मन्त्री अधिकारीले भन्नुभएको छ, “आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रुप प्रदान गर्नको लागि हाम्रो प्रयासहरु त्यस तर्फ केन्द्रित हुनेछ ।”