काठमाडौँ, वैशाख १ गते । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताउनुभएको छ ।

नववर्ष २०८२ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गर्नुभएको हो । पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्पष्ट पार्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्ने, सम्झने र मनन गर्ने हो भने लाखौँको बलिदान भएको छ, त्यसै जनता सार्वभौम बनेका होइनन् ।”

शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको सुझाव दिनुभयो । उहाँले भन्नुभएको छ, “आजको मुख्य विषय भनेको जनताको आवश्यकताको पहिचान र त्यसको सशक्त सम्बोधन, परिणाममुखी र नतिजामुखी काम नै हो । राज्यको साधनस्रोतको अधिकतम सदुपयोग र त्यसको प्रतिफल जनता समक्ष पुग्नु नै हाम्रो सफलता हो, जनताको सन्तुष्टिको अवस्था हो ।”

पूर्वअध्यक्ष रेग्मीले समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ बर्ष सफल होस् भन्ने कामना गर्नुभयो ।