बर्दघाट, चैत ३१ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ ।

तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि कायमै छ, तर अहिले भने क्रमशः त्यो प्रचलन हट्दै गएको छ । त्यसको उदाहरण यही क्याम्पसमा अध्ययन गर्न आउने विवाहित छात्रालाई लिन सकिन्छ । 

पाल्ही क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरु सबैजसो स्थानीय ग्रामीण भेगका छन् । विद्यार्थी सङ्ख्या हेर्दा उक्त क्याम्पस ग्रामीण क्षेत्रका छोरीबुहारीले चलेकोभन्दा फरक पर्दैन । क्याम्पस प्रशासनका अनुसार, क्याम्पसमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या ७४ प्रतिशत छ । यस क्याम्पसमा कूल विद्यार्थी सङ्ख्या ५०१ छ । जसमा छात्राको सङ्ख्या ३७० रहेको क्याम्पसका सहायक प्राध्यापक सञ्जीव कोइरालाले जानकारी दिनुभयो । जिल्लाकै पहिलो क्याम्पसका रुपमा रहेको यो क्याम्पस २०४६ साल वैशाख १२ गतेदेखि सञ्चालनमा आएको हो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको हुनाले यो क्याम्पस अध्ययन गर्नेहरु अधिकांश मधेसका छोरीबुहारी छन् । रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सराबल गाउँपालिकाबाट विद्यार्थीहरु अध्ययनका लागि यहाँ पुग्ने गरेका छन् । आर्थिक अवस्था राम्रो भएकाहरु भैरहवा, बुटवल र काठमाडौँ अध्ययनका लागि जाने गरेका छन् । तर कम आयस्रोत भएका र विवाहित तथा मधेसी समुदायका अधिकांश छोरीको उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाका रुपमा यो क्याम्पस रहेको छ ।

पछिल्लो समय मधेसी समुदायमा पनि शिक्षाको चेतना बढेपछि छोरीबुहारीहरु उच्च शिक्षाका लागि आउने गरेको सहायक प्राध्यापक कोइरालाको बुझाइ छ । घरमा ससाना नानीबाबुलाई छाडेर उनीहरु बिहानको समयमा क्याम्पस आउने गरेका हुन् । बिहानी कक्षा भएकाले पनि उनीहरुको पढ्ने इच्छा पूरा हुनमा मद्दत गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका–२ बस्ने प्रियङ्का कुमारी मिश्रा यसको उदाहरण हुनुहुन्छ । उहाँ विवाहित हुनुहुन्छ । श्रीमान्, सासूससुराको सहयोग र प्रेरणाले उहाँ अहिले पाल्ही क्याम्पसको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म शौभाग्यशाली छु, राम्रो परिवार पाएकी छु, र उहाँहरुले नै मलाई प्रेरणा दिएर पढ्न पठाउनु भएको छ ।”

हुनतः प्रियङ्काले पहिलो पटक २०७४ सालमा क्याम्पसमा स्नातक तहमा भर्ना भएर प्रथम वर्षको परीक्षा पनि उत्तीर्ण हुनुभयो तर दोस्रो वर्षको परीक्षा भने दिनुभएन । पढाई बीचमै छोड्नुभयो । पढाई छोड्नुका कारण उहाँको पारिवारिक समस्या वा चुनौती थिएन, उहाँ आफैँले छाड्नुभएको थियो । उहाँले भन्नुभयो, “दोस्रो वर्षको परीक्षा दिने बेलासम्म मेरो बच्चा जन्मियो, पढाई रोकियो । त्यसपछि मेरो बच्चा ठूलो भयो र म २०७९ सालमा फेरि सुरुदेखि पाल्ही क्याम्पसमा भर्ना भएर पढाइलाई निरन्तरता दिँदैछु ।” 

उहाँ भन्नुहुन्छ, “म ब्राह्मण समुदायको बुहारी हुँ र हाम्रो समुदायमा छोराछोरी जन्मिएपछि बुहारीले पढाइलाई निरन्तरता दिएका कमै होलान् । अझै म मधेसको पनि भारतसँग सीमा जोडिएको बस्ती, समुदायको हुँ जहाँ अहिले पनि बुहारीहरु घरकै कामकाजमा व्यस्त देखिनुहुन्छ । तर मेरो श्रीमान् र सासूससुराले शिक्षाको महत्व बुझेर होला मलाई पढ्नबाट रोक्नु भएन र अवसर दिनुभयो ।”

प्रियङ्का जस्तै अन्य बुहारीहरुले पनि यसैगरी विवाहपछिको पढाइलाई निरन्तरता दिएका छन् । नवलपरासीको सुनवल नगरपालिका–९ सोवाठी माइत भएकी अनिताको रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा कक्षा १२ सम्म पढेपछि बिहे भयो । बिहेपछि पढाइले निरन्तरता पाउँछ भन्नेमा उहाँलाई शङ्का थियो । तर अनिता अहिले पाल्ही क्याम्पसमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो श्रीमानले नै पढ्नुपर्छ भनेर मलाई हौसला दिनुभएको हो । अहिले म माइतमा बसेर पाल्ही क्याम्पस धाउँदै छु ।”

अझै परिवारमा सबैकुरालाई व्यवस्थापन गरेर निरन्तर कक्षामा सहभागी हुन मधेसका बुहारीलाई चुनौतीको विषय हो । तर उहाँहरु सबै काम र परिवारिक सम्बन्धलाई राम्रो बनाउँदै दिनहुँ कक्षामा उपस्थित हुनुहुन्छ । 

उहाँहरुमध्ये सबैभन्दा बढी चुनौती स्नातक तहमै अध्ययनरत छात्रा रामग्राम–७ उजैनी बस्ने चन्दा हरिजनलाई छ । चन्दाका दुई बच्चा छन् । सानो बच्चा सात महिनाको छ । तर उहाँ कक्षामा नियमित उपस्थित हुने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मेरो दुवै बच्चालाई सासूससुराले हेरचाह गर्नुहुन्छ, म बिहानै कलेज आउँछु । क्याम्पसबाट घर गएर बालबच्चाको हेरचाह पछि फुर्सद निकालेर पढ्ने गरेकी छु । मेरो पढाइलेखाइमा मलाई सासूससुराको ठूलो सहयोग छ, नत्र सातमहिने बच्चालाई घरमा छाडेर म कसरी पढ्न पाउँथे र रु” 

बुहारी पढ्न जाने भएपछि बिहानको खाना बनाउन सासूससुराले सघाउने गरेको उहाँले सुनाउनुभयो । बच्चालाई आवश्यक कुराहरु बेलुकै तयार गर्छु । उनीहरुलाई बिहान आवश्यकपर्ने लत्ताकपडा सबै मिलाएर मात्रै म बिहान क्याम्पस पढ्न आउँछु, उहाँले भन्नुभयो । 

त्यस्तै, रामग्राम नगरपालिका–१५ घिन्हा बस्ने रिनु चौधरीको पनि पारिवारिक अवस्था उस्तै छ । उहाँको पनि १३ महिनाको बच्चा छ । परिवारकै जिम्मा लगाएर निरन्तर कक्षामा सहभागी हुनेगरेको उहाँले सुनाउनुभयो । परिवारमा रहेका सासूससुरा र श्रीमान्को सहयोग भएन भने पढाइलाई निरन्तरता दिन गाह्रो छ । तर यो सबै सम्भव भएको पनि पाल्ही क्याम्पसले हो भनेर उहाँहरुले क्याम्पसलाई श्रेय दिनुभएको छ । क्याम्पस नजिक छ, हाम्रा अभिभावकको मन जितेको छ, त्यसैले हामीले पढाईलाई बुहारी भएर पनि निरन्तरता दिन पाएका छौँ, रिनुले भन्नुभयो । 

“परासीसम्म बुटवल र भैरहवादेखि बस नै आउँछ तर हामीलाई घरदेखि लिएर पढाइका सबै कुरा व्यवस्थापन गर्न पाल्ही क्याम्पसले मात्रै सम्भव भएको पायौँ र यसै क्याम्पसलाई रोजेका छौँ । हाम्रो समुदायस्तरमा छोरीबुहारीलाई घरभित्रको काममा मात्रै सीमित गर्ने चलन पनि यसै क्याम्पसले तोड्दैछ”, उहाँहरु भन्नुहुन्छ । 

हामीलाई थोरै चुनौती जाडो समयमा हुने गरेको छ, चन्दा हरिजन भन्नुहुन्छ, “जाडो समयमा अबेरसम्म अँध्यारो नै हुन्छ र त्यसमा पनि जाडो । त्यसैले अँध्यारोमा अन्य केही समस्या नहोस् भनेर सकेसम्म हाम्रो घरका कोही न कोही सदस्य क्याम्पस नजिकसम्म छोड्न आउनुहुन्छ । हामी सबैको घर क्याम्पस नजिक छैन, कसैको घर १० किलोमिटर टाढा त कसैको सात÷आठ किलोमिटर छ । हामी कलेज जाँदा साइकल लिएर जान्छौँ । त्यसैले अँध्यारोमा कसैले हामीसँग दुव्र्यवहार नगरोस् भनेर सकेसम्म हामी अभिभावकको सहयोगमा जाडो समयमा क्याम्पस आउने गरेका छौँ ।”

क्याम्पसको भौतिक अवस्था केही वर्ष पहिला खासै राम्रो नभए पनि अहिले क्याम्पसको भौतिक सेवासुविधामा सुधार हुँदै गएको क्याम्पस प्रमुख दीपक अर्यालले बताउनुभयो । कुनै समय यसै क्याम्पसमा कक्षाकोठाको अभाव थियो तर अहिले हामीले त्यो सबै व्यवस्थापन गरिसकेका छौँ, उहाँले भन्नुभयो । 

स्थानीय रामग्राम नगरपालिका, विश्वविद्यालय अनुदान आयोगको सहयोग र यसै क्याम्पसको संयुक्त लगानीमा अहिले महिला शौचालयसहित भौतिक सुविधामा सुधार भएको छ । पढ्ने इच्छा भएका तर पारिवारिक समस्याले टाढा जान नपाउने छात्राहरुका लागि यो क्याम्पस सबैभन्दा बढी रोजाइमा पर्ने गरेको अर्यालले बताउनुभयो । 

त्यससँगै क्याम्पसमा आकर्षण बढ्नुमा छात्रवृत्तिको व्यवस्थाले पनि हो । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ, प्रमुख अर्यालले बताउनुभयो । “खासगरी दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुँदै आएको छ ।”

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले क्याम्पसको स्तरोन्नतिका लागि आफू निरन्तर प्रयासमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्याम्पसमा कुनै समय विद्यार्थीहरुको अभाव थियो । तर अहिले धेरै सुधार छ ।”