काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज बिहिबार पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सो बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान १० बजे बस्दैछ । बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई आमन्त्रण गरिएको बताइएको छ ।


यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । सो बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।