लुम्बिनी, चैत २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री आचार्यले आजदेखि सुरु भएको पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै महर्षि पाणिनि र पतञ्जलीको योगदानलाई सम्मान गर्दै उहाँहरूको तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पार्नुभयो । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
“पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तरराष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यी प्रयासले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।”
उहाँले समुद्र सतहदेखि छ हजार सात सय ७३ फिट उचाइमा अवस्थित पाणिनि क्षेत्रलाई महर्षि पाणिनिको तपोभूमिका रुपमा उल्लेख गर्दै यस क्षेत्रको ऐतिहासिक, धार्मिक र प्राज्ञिक महत्वबारे प्रकाश पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको सङ्गमस्थलको रुपमा चित्रण गर्दै यहाँका पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन प्रवर्द्धनमा सरकार अघि बढेको जानकारी दिनुभयो ।
सम्मेलनमा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र सहभागी छन् । मुख्यमन्त्री आचार्यले पाणिनि र पतञ्जलीको योगदानलाई विश्वव्यापी सम्मान दिलाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको योजनाबद्ध विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रको विकास र मुलुकको आर्थिक समृद्धिका लागि छिमेकी देश चीन र भारतबाट पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।