काठमाडौँ, चैत २७ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ । सम्मेलनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सचिव डा प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य र जनसङ्ख्यामा आधारित अनुसन्धान प्रवद्र्धन, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्वीट्जरल्याण्ड, जर्मनी, अमेरिकालगायत १०० भन्दाबढी देशका विज्ञ तथा एक हजारभन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति हुनेछ । सम्मेलनमा ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतीकरण हुनेछन् ।

सम्मेलनले अनुसन्धानमार्फत सहकार्यलाई प्रवद्र्धन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने विश्वास लिएको परिषद्का कार्यकारी सचिव डा जोशीले बताउनुभयो । 

उहाँले सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको लागि पूर्वाधार बनाउँदै, दिगो र उत्थानशील स्वास्थ्य सेवाको सुनिश्चित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफलसमेत हुनेछन् । सम्मेलन यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।