काठमाडौँ, चैत २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले गत चैत १ गतेदेखि सुरु गर्ने भनिएको स्थगित आन्दोलन फेरि अघि बढ्ने भएको छ । राजवादीहरुको आन्दोलनका कारण स्थगित भएको आन्दोलन फेरि अघि बढ्ने भएको हो ।

एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो । पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रममा केही संशोधन गरिएको बताउनुभएको हो । संशोधित तालिका अनुसार बैशाख २४ गतेसम्म पहिलो चरणको आन्दोलन चल्ने भएको छ ।


महासचिव भुसालका अनुसार संशोधित आन्दोलनका कार्यक्रम अनुसार वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यस्तै, पार्टीले वैशाख २५ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको छ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ शीर्षकमा नेकपा एकीकृत समाजवादीले केन्द्रदेखि वडासम्मका कार्यक्रम राखेको छ ।