काठमाडौँ, चैत २७ गते । डेनमार्क अधिराज्यका लागि नेपालकी राजदूत सुम्निमा तुलाधरले त्यहाँका नरेश फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहमा उहाँले मङ्लबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि डेनिस नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के।पी। शर्मा ओलीका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै डेनमार्कका जनताको दिगो समृद्धिको कामना गर्नुभएको कोपनहेगनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–डेनमार्क सम्बन्धका विविध पक्षबारे छलफल हुनाका साथै नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे जानकारी दिनुभएको थियो ।

मौसूफले २०७२ सालको भूकम्पछि पश्चिम नेपालमा भएको मानवीय सहायता परिचालनको अवलोकन गरेको स्मरण गर्दै जलवायु परिवर्तन र हिमालय क्षेत्रमा त्यसको हानिकारक प्रभावबारे चिन्ता व्यक्त गर्नुभयो ।