गुल्मी, चैत २६ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

 काङ्ग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर काङ्ग्रेस थिचिएर बस्न नसक्ने बताउनुभयो । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी काङ्ग्रेसले नबोक्ने उहाँको भनाइ थियो । 

पछिल्लो समय आम नागरिकमा देखिएको असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको काँधमा आएको महामन्त्री थापाले बताउनुभयो । देशमा ठूला दलले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरण जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीलाई आग्रह गर्नुभयो । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको उल्लेख गर्दै उहाँले यस अवस्थामा थुप्रै सम्भावनाका ढोका खुलेका बताउनुभयो । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेकाले गणतन्त्र सबैको साझा भएको बताउनुभयो ।  

जिल्ला सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारी, डा मीनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी र चन्द्र केसी, प्रदेश सभापति अमरसिंह पुनलगायतले आ–अफ्नो धारणा राख्नुभएको थियो ।