चितवन, चैत २६ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित काङ्ग्रेस नेता ‘भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरु’ पुस्तक विमोचन तथा भित्तेपात्रो लोकार्पण गर्दै उहाँले काङ्ग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विसं २०६२र०६३ को जनआन्दोलन पछिका वर्षहरुमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ ।” उहाँले भन्नुभयो, “हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ ।” कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उहाँले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ । पार्टीलाई बलियो बनाउने काम गरौँ ।”

अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइरालालगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली काङ्ग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनालले भीमबहादुर श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।