काठमाडौँ, चैत २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनःजागरण गर्न गुरुकुल लाग्नुपर्नेमा जोड दिनुभएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कान्ति भैरव गुरुकुलले आज आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’को शुभारम्भ गर्नुहुँदै उहाँले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएझैँ भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिनुभएको हो । नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुहुँदै मन्त्री पाण्डेले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

 “संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यसअनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावनाअनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ, संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रुपमा स्थापित गर्न गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो । 

 संस्कृतको उन्नयनमा जयतु संस्कृतम् संस्थाको पनि भूमिका रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै संस्थालाई जोडेर अघि बढ्नुपर्ने बताउनुभयो । 

नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रुपमा विश्वमा स्थापित गर्न सकिने मन्त्री पाण्डेको भनाइ थियो । पछिल्लो समय भौतिकभन्दा आध्यात्मिक पक्ष महत्त्वपूर्ण हुँदै गएकाले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गरिमाबाट समाजलाई प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो ।

 कार्यक्रममा संस्कृत एवं तन्त्र ज्ञानका विद्वान् प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई सम्मान गरिएको थियो । सो अवसरमा गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेल, सचिव प्रा डा श्रीराम अधिकारी, नाटकका लेखक डा नवराज कट्टेललगायतले गुरुकुलमा अध्ययनरत विद्यार्थीको प्रतिभा विकासका लागि यस्ता गतिविधिलाई प्राथमिकतामा राख्ने गरिएको जानकारी गराउनुभएको थियो ।

 नारी शिक्षामा जोड दिइएको नाटकले पूर्वीय दर्शनमा गार्गी, मैत्रीयजस्ता विदुषी बनाएर बालबालिकासम्म ज्ञान बाँड्नुपर्ने सन्देश दिएको छ । वैदिक एवं धर्मशास्त्रका ग्रन्थले पनि नारी शिक्षामा जोड दिएको सन्देश नाटकले प्रवाहित गरेको छ ।