काठमाडौँ, चैत २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा हुने भएको हो ।


राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो ।


आज काठमाडौँका विभिन्न चार स्थानमा राजनीतिक दल तथा सङ्घसंस्थाहरूको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ । आज एकै दिन बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बानेश्वर र माइतीघर सडक खण्डको बिचमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्दैछन् ।

विशेषगरी राप्रपाले विभिन्न स्थानबाट जुलुश प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको छ । गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले पनि आजको प्रदर्शन अनुशासित बनाउने जनाएको छ । राप्रपाले देश बनाउने र बचाउने अभियानमा सबैलाई पार्टीको झण्डासहित प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ ।

राजतन्त्र पुनर्स्थापनका लागि राप्रपाले बागमती प्रदेशस्तरीय आमसभा गर्न लागेको हो । यसअघि राप्रपाले भृकुटीमण्डमा सभा गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न अनुमति नदिने निर्णय गरेको थियो ।