फाइल तस्वीर
काठमाडौँ, चैत २५ गते ।
साहित्यकार एवम् वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा रिसालको आइतबार राति ९८ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरको तिथलीमा विक्रम सम्बत् १९८५ साउन २९ गते जन्मनुभएका रिसाल मुटु र फोक्सोसम्बन्धी रोगबाट पिडित हुनुहुन्थ्यो । एक सरल र नम्र व्यक्तित्वका धनी अग्रज पत्रकार रिसालले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ नामक रेडियो श्रृङ्खला कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित हुनुभएका साहित्यकार भैरव रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत कीर्तिहरु समेत प्रकाशित छन् ।

काठमाडौँको घट्टेकुलोमा बस्दै आउनुभएका रिसालको राजनीतिक पृष्ठभूमि कम्युनिष्ट विचारधारा थियो । नेपाल मजदुर किसान पार्टी निकट रहनुभएका रिसाल २०४८ सालको आमनिर्वाचनमा भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।

केही समय राष्ट्रिय समाचार समितिमा समेत काम गर्नुभएका रिसालको नेपाली पत्रकारिताको क्षेत्रमा एक सम्मानित व्यक्तित्व समेत हुनुहुन्थ्यो । यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका रिसालका रिसालका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।