काठमाडौँ, चैत २२ गते । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले विद्युत् महसुल बक्यौता उठाएकै कारण पदबाट हटाएको बताउनुभएको छ । आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्व कार्यकारी निर्देशक घिसिङले अदालतको आदेशअनुसार आफूले विद्युत् महसुल बक्यौता उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको जिकिर गर्नुभएको हो ।
पूर्व कार्यकारी निर्देशक घिसिङले सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेपाल विद्युत् प्राधिकरणमा सेवा गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै ०८१ चैत १४ गते हटाइँदै गर्दा पनि आफू मकवानपुरको चेपाङ वस्तीमा काममैरहेको उल्लेख गर्नुभयो । उहाँले कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई हटाउनुलाई सफल ठाने तापनि आफू कार्यकारी निर्देशकबाट मात्र बिदा भएको र जिम्मेवार नागरिकको अभिभारा आफूबाट कहिल्यै कम नहुने बताउनुभयो ।
आफूले संस्था र राष्ट्रप्रति घात गर्न नसकेको भन्दै कानुनअनुसार नै काम गर्दासमेत दबाब र प्रभाव थेग्नुपरेको बताउँदै घिसिङले आज पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’
घिसिङले भन्नुभयो, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’