काठमाडौँ, चैत १९ गते । सरकारले आम नागरिकलाई राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको तर्फबाट आम सर्वसाधारणलाई अपिल गर्नुभएको हो ।


प्रवक्ता गुरुङले, ‘तीनकुने घटनाको सत्यतथ्य छानिविन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको बताउँदै यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्ने’ बताउनुभयो ।


गत शुक्रबार तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको र घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिइसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको भनाइ छ ।