काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन आज मङ्गलबार बैंककतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको १९ सदस्यीय भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्तामा सहभागी भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने बताइएको छ ।

प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै सोही दिन ओलीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । चैत २२ गते अप्रिल ४ का दिन बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधनको कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुुहुनेछ । सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको  नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक  हुनुहुनेछ ।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ । 

प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।