काठमाडौँ, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ । दोस्रो पटक आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई भेट्न उहाँको कार्यालय पुग्नुभएका रास्वपाका सभापति लामिछानेलाई उहाँले निलम्बन फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताउनुभएको हो ।

सभामुख घिमिरेले सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन, मैले सूचना मात्रै जारी गरेको हो । कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ । मैले निलम्बन फुकुवा गर्न सक्दिनँ, भन्नुभयो ।
आज मङ्गलबार बिहान सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटवार्ताका क्रममा सभापति लामिछानेले सरकारले राजनीतिक प्रतिशोधका कारण आफूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको भन्दै राजनीतिक दलहरूसँग छलफल गरी टुङ्ग्याइदिन आग्रहसमेत गर्नुभयो ।