अर्घाखाँची, चैत १८ गते । यहाँको भूमिकास्थान नगरपालिका–७ पानडाँडामा भएको आगलागीमा परी आज एक घर र तीन गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ, रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्णरुपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।