काठमाडौँ चैत १८ गते । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ । गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेतागण, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिनुभएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिनुभयो ।
अध्यक्ष नेपालले मुलुकको राजनीतिक, पत्रकारिता, कूटनीतिकलगायत क्षेत्रमा अनुभवी नेता कोइराला निष्ठावान् आदर्श व्यक्तित्व भएको बताउँदै उहाँको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । दिवङ्गत कोइराला वरिष्ठ लेखक र स्तम्भकार, पूर्वसांसद तथा राजदूतसमेत हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।