काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताउनुभएको हो ।

यस्तै, यही चैत १५ गते भएको घटनाबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले यी सबै घटनाको मुल जिम्मेवार पूर्वराजा नै भएकाले तीनकुने घटनामा भएको घटनाको जिम्मेवारी उहाँले नै लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट–शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’’

प्रधानमन्त्री ओलीले तीनकुले घटना सबै निन्दनीय र खेदजनक कार्य भएको बताउनुभएको छ । उहाँले यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुने जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा राख्नु हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छुु ।’’
प्रधानमन्त्रीले सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गरेर आफ्नो धारणा सार्वजनिक गरेको बताउनुभयो । मोर्चाको कार्यक्रम शालीन जुलुस सहित भएको भन्दै प्रधानमन्त्रीले त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे । ‘हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’

तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा नगरेको र उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड सलबलाउन थालेको थियो । प्रधानमन्त्री भन्नुभयाृ, ‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमान्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो ’

हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरिएको भन्दै प्रधानमन्त्रीले निजी व्यक्तिको घरमा आगजनी मात्रै नगरेर मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भएको बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो’, प्रधानमन्त्रीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ । ’

घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीले तीनकुने घटनाको पृष्ठभूमिमा करिब १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको भन्दै सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील भएको र मौका खोजिरहेको बताउनुभयो ।