काठमाडौँ, चैत १८ गते । काठमाडौँको गोकर्णेश्वरस्थित माकलबारीमा एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
यहि चैत ११ गतेदेखि हराइरहेका सर्लाहीको चक्रघट्टा गाउँपालिका– ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका– ५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको शव चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडी जमिनमा गाडीएको अवस्थामा फेला परेको थियो ।
उनी हराएको सूचना प्रहरी वृत्त बोद्धमा पुगेपछि प्रहरीले खोजतलास गर्दा घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई हत्या गरेको खुलेको र हत्यामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, सोही गाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत, बिहार घर भई काठमाडौँको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । लेनदेनको विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरीले जनाएको छ ।