कैलाली, चैत १८ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ईस्लाम धर्मावलम्बीको महान् पर्व ईद उल फित्र अर्थात् ईद पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
एकापसमा रहेको रिस, राग बिर्सेर एकापसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र पारिवारिक मिलनको रुपमा खुसी र हर्ष उल्लासपूर्वक ईद पर्व मनाउन उहाँले आग्रह गर्नुभएको छ ।
“यस पर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, समझदारी, समन्वय मेलमिलाप एवं भाइचाराको भावना बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस्”, प्रदेश प्रमुख मियाँको सन्देशमा उल्लेख छ ।