काठमाडौँ, चैत १८ गते । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको सदन प्रभावित भएपछि प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
साथै गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको बर्खास्ती प्रकरणलगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
यसैगरी, आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नुहुने कार्यसूची छ ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।